Home / World News / विद्युतीय कार टेस्ला मोडल एक्स र मोडल थृ नेपाली बजारमा भित्रीदै

विद्युतीय कार टेस्ला मोडल एक्स र मोडल थृ नेपाली बजारमा भित्रीदै

काठमाडौं । नेपाली बजारमा भित्रिएर पनि आधिकारिक रुपमा लन्च हुन नसकेको सर्वाधिक प्रतिक्षित कार हो, टेस्ला । एलन मस्कको विद्युतीय कार तथा अन्तरिक्ष यात्रा गराउने कम्पनी टेस्लाका विद्युतीय सवारीको विश्‍वमै आकर्षक दुई मोडलका कार मगाएर श्रीमा डिस्ट्रिब्युटर्सले बिक्री कक्षमा राखेको छ । केही गाडी नेपाली सडकमा पनि देखिन थालेका छन् ।

अहिले नेपाल भित्रिएका दुई कार हुन्, मोडल एक्स र मोडल थ्री । लकडाउनका कारण कम्पनीले यी कारको आधिकारिक लन्च भने गर्न सकेको छैन । माइलेज, मूल्य, विशेषता, सुरक्षालगायतले टेस्लालाई इलेक्ट्रिक कारबारे चासो राख्‍ने र इलेक्ट्रिक कार चढ्ने चाहना हुनेले ‘ड्रिम’ कारका रुपमा लिन्छन् ।

सुरुमा कुरा गरौं, मोडल एक्सको । कारको दुई सय किलोवाट क्षमताको विद्युतीय इन्जिनले ५ सय ३ हर्सपावर उच्चतम् शक्ति र ६ सय ६० एनएम टर्क पैदा गर्छ । यो दुईवटा मोटर भएको अल ह्‌विल ड्राइभ एसयूभी हो । कम्पनीले सात सिट क्षमताको यो आरामदायी कारलाई संसारको तीव्र एसयूभी भनेको छ । यसले ०-६० माइल प्रतिघण्टा गति २.६ सेकेन्डमा पार गर्ने क्षमता राख्छ ।

एड्जस्टेबल तथा एडाप्टिभ एयर सस्पेन्सन भएको कारले एक फुल चार्जमा ५ सय ६५ किलोमिटर दूरी पार गर्न सक्दछ । नेपालमा उपलब्ध विद्युतीय सवारीहरुले यो माइलेज दिने क्षमता राख्दैनन् । कारलाई फुल चार्ज गर्न ५ घण्टा समय लाग्छ ।
टेस्लाको मोडल एक्सको पर्फमेन्सलाई कुनै मौसमले फरक पार्दैन । मोडल एक्स पार्किङका लागि ढोका खोल्ने पर्याप्त स्पेस आवश्यक पर्दैन ।

यसको ग्राउन्ड क्लियरेन्स ९ इन्चको छ । कारमा २२ इन्चको ह्‍‌विल दिइएको छ भने कार्गो क्षमता ८८ क्युबिक फिट छ । यसमा १७ इन्चको टचस्क्रिनसहितको इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । कारमा ११.५ किलोवाटको अनबोर्ड चार्जर जडान गरिएको छ । कारमा ४ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ । ब्याट्री र ड्राइभ युनिटमा भने ८ वर्ष वा डेढ लाख किलोमिटरको वारेन्टी छ ।

मोडल थ्री भने केही फरक छ । कारको ग्राउन्ड क्लियरेन्स ७ इन्च छ । यसले ०-६० माइल प्रतिघण्टा रफ्तार ३.१ सेकेन्डमा समात्‍न सक्छ । एक फुल चार्जमा मोडल थ्री ४३० किलोमिटरसम्म गुड्न सक्छ । यो पनि ड्युअल मोटरयुक्त अल ह्‌विल ड्राइभ कार हो जसमा ५ जना बस्‍न मिल्छ ।

कारमा २० इन्चको ह्‌विल दिइएको छ । यस्तै कार्गो स्पेस १५ क्युबिक फिटको मात्र छ । यसको वारेन्टी मोडल एक्सको झैं छ । ब्याट्री र ड्राइभ युनिटमा भने एक लाख २० हजार किलोमिटर वा आठ वर्षको वारेन्टी छ ।

कारले १५ मिनेट मात्र चार्ज गर्दा ७५ माइल गुड्न सक्ने क्षमता राख्छ । मोडल थ्री एक रातमै फुल चार्ज हुन्छ । यसको टर्क अगाडि र पछाडिको चक्कामा डिजिटल रुपमा नियन्त्रित हुन्छ । कारको कन्ट्रोल अविश्‍वसनीय रहेको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *