Home / Nepal / News / कोरोना भाइरसलाई राजनीतिकरण नगरियोस् : डब्लूएचओ

कोरोना भाइरसलाई राजनीतिकरण नगरियोस् : डब्लूएचओ


काठमाडौं । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस आडानोम घेब्रियससले जेनेभामा नियमित ब्रिफिङका क्रममा कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् । 

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई गरेको सहयोग कटौती गर्ने विषयमा दिएको चेतावनीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । 

उनले भने, “अहिले सम्पूर्ण राजनीतिक दलको जोड भनेको मानिसको जीवन बचाउने हो । यदि कुनै राष्ट्र अथवा विश्वव्यापी रुपमा फुट उत्‍पन्‍न भएमा भाइरसको जित हुनेछ ।” 

“हामीले विश्‍वभरबाट ६० हजार मानिस गुमाइसकेका छौं । हामी के गरिरहेका छौं ?,” उनले भने, “कोभिड-१९ लाई लिएर राजनीति गर्नु आवश्यक छैन । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले कोरोना भाइरस नियन्त्रणको पहलमा कमजोरी गरेको र चीनतर्फ बढी केन्द्रित भएको आरोप लगाउँदै अमेरिकाले दिने सहयोग बन्‍द गर्ने चेतावनी दिएका थिए ।

डब्लूएचओ प्रमुख घेब्रियससले अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने, “मलाई पूर्ण विश्वास छ कि अमेरिकाले आफ्नो सहयोग जारी राख्‍नेछ ।” 

उनले थपे, “दैनिकरुपमा विश्व साँघुरिँदै गएको छ भने विगतभन्दा अहिले एक्यबद्धताको निकै ठूलो महत्व भएको छ । त्यसकारण यस भाइरसविरुद्ध सब एक भएर लड्‍न आवश्यक छ ।” 

त्यसैगरी डब्‍लूएचओले कोरोना भाइरस कुनै घरपालुवा जनावरबाट सरेको प्रमाण नभेटिएको समेत बताएका छन् । 

डब्लूएचओको ‘इमर्जिङ डिजिज् युनिट’का निर्देशक मारिया भान केरखोभले भनिन्, “चीनको कोरोना संक्रमण देखिएसँगै गरिएको एक अध्ययन अनुसार बिरालोमा पनि कोरोना भाइरसको संक्रमण हुनसक्ने बताइएको थियो । तर, बिरालोले मानिसमा कोरोना सार्ने अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *