World News

अमेरिकी नागरिकहरुलाई जबरजस्ती मास्क लगाउनैपर्छ भन्दिन – ट्रम्प

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको संक्रमण नियन्त्रण गर्न अमेरिकी नागरिकहरुलाई जबरजस्ती मास्क लगाउनैपर्ने भनेर कहिल्यै आदेश नदिने प्रतिज्ञा लिएका छन् । यसअघि संक्रामक रोगका वरिष्ठ डाक्टर एन्थोनी फाउसीले सबै स्थानीय नेताहरुलाई मास्क लगाउन जतिसक्दो जोड दिन आग्रह गरेका थिए जसकै प्रतिक्रियमा ट्रम्पले त्यस्तो भनेको बताइएको छ ।

डाक्टर फौसीले यसअघि मुख छोप्ने विषय अत्यन्तै महत्वपूर्ण भएको र प्रत्येकले मास्क प्रयोग गर्नैपर्ने जरुरी रहेको बताएका थिए । तर अमेरिकामा मास्क लगाउने सम्बन्धी अझै पनि विभिन्न राजनीतिक विवाद चलिरहेको छ । मास्क लगाउने विरुद्धमा रहेका ट्रम्पले गत शनिबार मात्र पहिलोपटक सार्वजनिक रुपमा मास्क लगाइ देखा परेका हुन् ।


तर शुक्रबार फक्स न्युजसँगको कुराकानीमा उनले देशव्यापी रुपमा मास्क अनिवार्य गर्नुपर्ने कुरासँग आफू कतै सहमत नभएको बताएका हुन् । उनका अनुसार मास्क लगाउने नलगाउने भन्नेमा मान्छेले स्वतन्त्र निर्णय गर्न पाउनुपर्छ ।

दक्षिणतर्फको स्टेट जर्जियाका गभर्नर ब्रायन केम्पले भने सबै स्थानीयहरुलाई अर्को महिनासम्म मास्क लगाउन लगातार अनुरोध गरिरहेका छन् । यसलाई व्यक्तिगत निर्णय भन्दा पनि अनिवार्य बनाउनमा उनी जोड दिइरहेका छन् ।

त्यसैगरी अघिल्लो हप्ता नै अमेरिकाको सार्वजनिक स्वास्थ्य निकाय, सिडीसीले पनि एउटा बयान जारी गर्दै सबैलाई मास्क लगाएर मात्र घरबाट बाहिर निस्कन अपील गरेको हो । सीडीसीका निर्देशक डाक्टर रोबर्ट आर रेडफिल्डले भनेका छन्, “कोभिड–१९ विरुद्ध हामी केही गर्नै नसक्ने अवस्थामा छैनौँ । कपडा वा मास्क यससँग लड्ने सबैभन्दा शक्तिशाली हतियार हो । यसमार्फत संक्रमण नियन्त्रण गर्न सकिन्छ । ”

यसरी केही समय यता अमेरिकाका दक्षिणतर्फका स्टेटहरमा भाइरस संक्रमण तिव्र रुपमा वृद्धि भइरहेकाले पनि मास्क सम्बन्धी विवाद झन चर्किरहेको छ । टेक्सस र क्यालिफोर्नियामा मात्र नयाँ कोभिडका बिरामीका लागि सयौँ सैन्य मेडिकल स्टाफ खटाइएको छ ।
त्यस्तै मृत शरीरहरु राख्नका लागि पनि अधिक सङ्ख्यामा कुलर ट्रकहरु पठाइएको छ ।

पछिल्ला केही हप्ता फ्लोरिडाका अस्पतालले पनि आइसीयु पूरै भरिएको र नयाँ बिरामी लिन नसक्ने अवस्थामा पुगेको रिपोर्ट गरिरहेका छन् । कतिपय स्टेटमा चाहिँ परीक्षणको माग उच्च हुँदा समस्या भइरहेको छ । यस्तोमा पिट्सबर्ग, पेनिसिल्भेनिया लगायतमा भाइरससँग सम्पर्कमा आएको शंका भएकाहरुलाई परीक्षण नगराइ घरमा १४ दिनसम्म आइसोलेट भएर बस्न आग्रह गरिएको छ ।

हवाइले पनि परीक्षण सामग्रीको अभावकै कारण बाहिरबाट आउनेहरुलाई दुई हप्ता अनिवार्य क्वारेन्टिनमा राख्ने बताएको छ । अहिले अमेरिकामा बिरामीको सङ्ख्या ३६ लाख पुगेको छ भने १ लाख ३९ हजार बढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *