Nepal

भुवन केसीलाई लक्ष्यित गर्दै साम्राज्ञी भन्छिन् : सेटमै दुव्र्यवहार गरियो

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि विभेद भएको बताएकी छिन् । केही दिनअगाडि उनले आफूले आफ्नो चलचित्र करिअरको पहिलो चलचित्रको सेटमै विभेद भोग्नुपरेको सामाजिक सञ्जालमार्फत बताएकी थिइन् । 

उनले आफूले यो कुरा पहिला नै भन्न चाहे पनि केही अग्रजले चुप लाग्न भनेपछि नभनेको बताएकी छन् ।

बलिउडमा यस्ता व्यवहार थुप्रै हुने गरेको भन्दै नेपाली चलचित्र उद्योग पनि अछुतो नरहेको र त्यसको अनुभव आफू स्वयंले गरेको साम्राज्ञीले भिडियोमा बताएकी थिइन् ।  उनले नामै तोकेर स्पष्ट नभने पनि पहिलो चलचित्र भनेपछि धेरैले साम्राज्ञीले लक्षित गरेको व्यक्ति अनुमान लगाए । 

साम्राज्ञीले आफूलाई लक्षित गरेको थाहा पाएपछि भुवन केसीले फेसबुकमा स्टाटस लेखे– “खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि ।”

भुवनले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएपछि अर्को भिडियोमार्फत साम्राज्ञी पुनः आइन् । यो भिडियोमा उनले धेरै कुरा गरेकी छिन् । 

“मलाई नराम्रो भएको हो भन्ने थाहा पाउँदा पाउँदै यही क्षेत्रका केही अग्रजहरूले अहिलेलाई केही नभन । चलचित्रको करिअरमै समस्या आउनसक्छ । छोरी मान्छेलाई झन् गाह्रो हुन्छ । चलचित्र नै पाउँदैन भन्नुभयो र म चुप लागेँ,” उनले भिडियोमा भनेकी छिन्, “मलाई चित्त बुझ्दैन थियो । मन दुख्थ्यो तर म चुप लागेर बसेँ । सायद मेरो ठाउँमा तपाईंहरू भइदिएको भए के थाहा तपाईंहरूले त्यतिबेलै जे पनि गर्नुहुन्थ्यो । तर मलाई काम मन परेकाले चलचित्र हिट भए पनि फ्लप भए पनि काम गरिरहेँ ।”

सेटमा चित्त नबुझे पनि काम मन परेकाले आफूले सधैं सक्दो मिहिनेत गरेको उनले बताएकी छिन् । उनीहरूको बानी व्यवाहार जस्तोसुकै भए पनि चलचित्रमा अवसर दिएकोप्रति भने उनले आभार व्यक्त गर्दै नराम्रा कुराहरू सञ्चारमाध्यममा नल्याएको स्पष्ट पारेकी छिन् ।

“मैले सञ्चार माध्यममा केही भनिनँ र केही गरिनँ । यदि मैले पुलिस केस गरेको भए त्यहीँ पुलिस आउँथ्यो र केस पनि लाग्थ्यो । तर मैले त्यसो गरिनँ,” उनी अगाडि थप्छिन्, “तर मलाई त्यो बेला के गर्नुपर्छ भन्ने केही थाहा थिएन । स्टुपिड थिएँ म । मेरो परिवारबाट कोही पनि चलचित्र उद्योगमा नरहेकाले पनि केही थाहा थिएन । मलाई कहिल्यै नभेटेको कहिल्यै नचिनेको मान्छेले विभिन्न आरोप लगाउँदा पनि म चुप लागेर नै बसेँ ।”

साम्राज्ञीले आफू भुवनकै कारण बोल्न बाध्य भएको बताएकी छिन् । “अरूलाई के गर्नुभयो भएन मलाई थाहा छैन तर अहिलेको जुन अवस्था आयो । यो उहाँकै कारण आएको हो । उहाँको बानी व्यवहार राम्रो भएको भए यो अवस्था आउने थिएन,” उनी अगाडि भन्छिन् । कतिले बोल्नुभएको पनि होला तर सुनिएन होला । अहिले फेसबुक, इन्टाग्राम, युट्युबले गर्दा हाम्रो आवाज सुन्ने दिन आयो ।”

भुवनले जापानमा भएको चलचित्र अवार्ड कार्यक्रममा आफूलाई तिमी मेरो प्रोडक्ट भन्दै पुराना कुरा नउठाउन आग्रह गर्दै नजिकिन खोजेको तर मनमा रिस उठे पनि आफूले हाँसेरै बोलेको साम्राज्ञीले बताएकी छिन् । 

पहिलो फिल्मबाहेक पनि आफूले नराम्रो महसुस गरेको तर चुप लागेर बसिरहेको उनको भनाइ छ । 

आफूले सत्य बोलिरहेको भन्दै साम्राज्ञीले ठूला ब्यानर भन्नेहरूले नयाँ कलाकारसँगबाट फाइदा उठाइरहेको बताएकी छिन् । म र मेरो चलचित्र नै राम्रो भनेर बाहिर दाबी गरिएजस्तो भित्री पाटो नरहेको उनले बताएकी छिन् । आफूले भोगेको र देखेको कुरा आफूले बोलेको उनी बताउँछिन् । 

नयाँ कलाकारलाई पनि सम्मान गर्न निर्माता, निर्देशकहरूसँग आग्रह गरेकी उनले तीनवटा बाहेकका चलचित्रमा राम्रो व्यवाहार र सम्मान पाएको उल्लेख गरेकी छिन् । 

आफूलाई लाखौं दर्शकले माया र सम्मान गरे पनि केही व्यक्तिले सधैं घृणा र आलोचना गर्दा मन दुख्ने गरेको उनले भिडियोमा भनेकी छन् ।


यही विषयमा बुझ्दा भुवन केसीले यस विषयमा केही पहिला पनि आफूले जानकारी गराएको उल्लेख गर्दै केहीदिनपछि सबै कुरा भन्ने कुराकानीमा बताए ।

साम्राज्ञीले आफूले पहिलोपटक चलचित्र करिअरको सुरुका दिनमा निर्माता तथा निर्देशकहरूबाट हेपिएको र सम्मानजनक व्यवहार नपाएको बताए पनि उनले यसअघि पनि यो गुनासो गर्दै आएकी थिइन् । 

दुई वर्षअघि दिएको अन्तर्वार्तामा उनले चलचित्र ‘ड्रिम्स’को छायांकनमा आफूले अपमानित हुनुपरेको बताएकी थिइन् । 

उनले नायकलाई तिर्खालाग्दा जुुस आए पनि आफूले पानी माग्दा पनि समयमा नदिने, नायकलाई घाममा छाता ओढाइदिने स्पट ब्वाई भए पनि आफू चर्को घाममा डढ्नु परेको गुनासो गरेकी थिइन् । 

नेपाली चलचित्र उद्योगमा निर्देशक निर्माता तथा कलाकारबीच पारिश्रमिक र चलचित्र प्रचारलाई लिएर बेलाबेला विवाद आउने गरेको छ । 

चलचित्र उद्योगका केही व्यक्तिमा समस्या रहेको तर समग्रमा भने त्यस्तो नरहेको निर्माता निर्मल शर्मा बताउँछन् ।  “मैले पहिलो मौका दिएको हो भनेर सधैंभरी एउटै कुरा रटान लगाइरहने र मैले मौका दिएको भन्दैमा सधैं भनेको मान्नै पर्छ भन्ने छैन,” निर्मल भन्छन्, “तर सबै एकै प्रकारका पनि छन् भन्ने होइन । धेरैमा कोही राम्रा र केही नराम्रा पनि हुन्छन् । यो चलचित्रमा मात्रै होइन सबै क्षेत्रमा हुन्छन् ।”

चलचित्र क्षेत्रमा उज्यालो भविष्य खोजिरहेकाहरूलाई अबका केही वर्ष चलचित्रमा सम्भावना नदेखेपछि डिप्रेसनमा जाने सम्भावना रहेको भन्दै निर्माता संघ, कलाकार संघ तथा निर्देशक समाजलाई कलाकाहरूलाई काउन्सिलिङ गर्न उनी सुझाव दिन्छन् । 

“बलिउड र हलिउडमा डिप्रेसनको असर देखिसक्यो । त्यो अवस्था नेपालमा पनि नदेखिएला भन्ने छैन । अहिले त आरोप मात्रै हो । भोलिका दिनमा योभन्दा ठूला समस्या आउन सक्छन् । यसबाट बेलैमा सचेत हुनुपर्छ,” उनी भन्छन्, “खाली दिमाग सैतानका घर भन्ने कुरा बुझ्नुपर्छ ।”

नायिका स्वस्तिमा खड्का नयाँ भन्नेबित्तिकै सबैलाई विभेद नहुने भन्दै व्यक्ति विशेषमा भरपर्ने बताउँछिन् । “कसले कसलाई कस्तो व्यवहार गर्छ भन्ने कुरा चलचित्र निर्माण युनिट र व्यक्तिमा भरपर्छ,” स्वस्तिमा भन्छिन्, “कोही व्यक्ति कसैबाट विभेदमा परेन भनेर भन्न पनि सकिँदैन किन भने यो व्यवहारको कुरा हो । तर नयाँ हुँदैमा विभेद हुन्छ नै । यदि हुन्छ भने यो स्वाभाविक हो भनेर सहनुपर्छ भन्ने पनि छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *