कृषि सामग्री कम्पनीद्वारा दुइ कम्पनीको धरौटी रकम जफत
कृषि सामग्री कम्पनीले नेपाली दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको धरौटी रकम जफत गरेको छ।
सम्झौता बमोजिम मल नल्याएपछि दुई कम्पनीको गरी ७ लाख ९६ हजार अमेरिकी डलर जफत गरिएको कम्पनीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए।
‘हामीले सम्झौता बमोजिम समयमै मल नल्याएपछि ती कम्पनीलाई कारबाही गरेका छौं,’ उनले भने, ‘त्यसको पुन टेण्डर पनि खुलिसक्यो।’
उनका अनुसार शैलुङले मंसिर १३ गते (नोभेम्बर २८) भित्रमा र मुक्तिनाथले मंसिर १९ गतेसम्ममा मल ल्याइसक्ने गरी सम्झौता भएको थियो।
कम्पनीले प्रथम चौमासिकमा १ लाख ५५ हजार टन बराबरको मल ल्याउन १२ लटमा ग्लोबल टेण्डर गरेको थियो।
बोलकबोलमा नेपाली कम्पनी शैलुङ, मुक्तिनाथ, इंडियन पोटास कम्पनी (आइपिएल) र दुवैको जेन ट्रेड कम्पनीले टेण्डर पाएका थिए।
मुक्तिनाथ कम्पनीले युरिया मल ५० हजार र डिएपी २० हजार टन ल्याउन ठेक्का पाएको थियो भने शैलुङले ५५ हजार टन मल ल्याउन ठेक्का पाएको थियो।
त्यसका लागि कृषि सामग्री कम्पनीले शैलुङलाई ४ लाख २ हजार ५ सय अमेरिकी डलर र मुक्तिनाथलाई युरिया मलको लागि ३ लाख ९९ हजार र डिएपीको लागि ३ लाख ९७ हजार अमेरिकी डलर धरौटी रकम दिएको थियो।
त्यस्तै, आइपिएलले १० हजार टन पोटास, २० हजार टन डिएपी र दुवैको जेन ट्रेड कम्पनीले २५ हजार टन डिएपी ल्याउने ठेक्का पाएको थियो।
ठेक्का सम्झौता अनुसार आइपिएल र जेन ट्रेडको गरी ५५ हजार टन मल मात्र आउन सकेको कम्पनीका प्रवक्ता पोखरेलले जानकारी दिए।
समयमै मल नल्याएपछि भदौमा पनि शैलुङ र होनीको मल्टिपल कम्पनीको धरौटी रकम जफत गरिएको थियो।